दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले मार्मा गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन/निरीक्षण गर्नुभएको छ । बुधबार मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ का बाढी-पहिरो प्रभावित समुदाय संग भेटघाट गर्नुका साथै पहिरोको स्थलगत अनुगमन गर्नु भएको हो । पूर्वाधार विकास कार्यालय बैतडीका ईन्जिनियर लगायत विभिन्न कार्यालयका प्राविधिक सहितको टोली लिएर बाढीपहिरो प्रभावित क्षेत्र पुग्नु भएका प्रतिनिधिसभा सदस्य बडूले पहिरोको उचित व्यवस्थापन र प्रभावित क्षेत्रका समुदायको व्यवस्थापनका विषयमा मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी संग छलफल गरेका छन् ।
स्थलगत अनुगमन पश्चात भोलिदेखि नै क्षतिको प्राविधिक मूल्यांकन, क्षतिग्रस्त संरचनाहरुको पुर्नर्निर्माण र आगामी दिनमा यसको व्यवस्थापनका निम्ति कार्ययोजना बनाउन प्राविधिकहरुलाई निर्देशन दिनुभयो । साथै उनले सुदूरपश्चिम प्रदेश सरकारको बजेट आउन बाँकी रहेकोले मार्माको बाढी पहिरो रोकथाम र क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्न प्रदेश सरकार संग आग्रह गर्ने पनि प्रतिबद्धता जनाए ।
मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ मा गएको पहिरोका कारण ठूलो क्षति भएकाले यसको नियन्त्रण र भावी योजना तयार पार्न प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको छ ।
मंगलवार विपद व्यवस्थापन समितिको बैठकमा उपस्थिति जनाएका दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको निर्देशनमा क्षति न्युनिकरणका लागि समिति गठन गरिएको हो ।
पूर्वाधार विकास कार्यालय बैतडीका ईन्जिनियर हर्क राज जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ।
अनुगमनमा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू संगै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, गाउँपालिका उपाध्यक्ष शर्मिला चन्द सिंह, वडा अध्यक्ष, पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर, लगायत विभिन्न कार्यालयका प्राविधिक टोलीको सहभागिता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?