मालिकार्जुन नमुना मावि धापमा अंग्रेजी शिक्षक अभाव

मालिकार्जुन नमुना मावि धापमा अंग्रेजी शिक्षक अभाव


दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११ र १२ मा अंग्रेजी शिक्षक अभाव रहेको छ । उक्त विद्यालयमा गत बैशाखदेखि शिक्षक अभाव रहेको हो । कक्षा ११ र १२ मा पढाउने राहत अनुदान कोटाका शिक्षक पुस्कर सिंह रैखोला प्रावि तहमा स्थायी नियुक्त भएपछि विद्यालयमा शिक्षक अभाव रहेको हो ।

रैखोलाले चैत अन्तिम तिर स्थायीको नियुक्ती बुझेका थिए । विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्नाका लागि विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी महाकाली नगरपालिकालाई पठाइएको भएपनि अहिलेसम्म पदपूर्ति हुन नसकेको मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीले बताए ।

विद्यालयमा विषय शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको उनको भनाई छ । प्रधानाध्यापक बुढाथोकीका अनुसार अहिले समय मिलाएर उनै शिक्षक रैखोलाले अध्यापनमा सघाइ रहेका छन् ।
यस्तै शिक्षक अभाव रहेको विषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीले सुरुमा नगरपालिकाले शिक्षक पदपूर्ति (भर्ना) का लागि अनुमति दिएको र पछि आएर अनुमति रोक्का गरेको बताए । यसमा राजनीति घुसेको उनको आरोप छ ।

विद्यालयले अंग्रेजी शिक्षकको विज्ञापन खोलेको थियो । पछि नगरपालिकाले उक्त विज्ञापन रद्ध गरेको हो ।

महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिरका ‘काका’ नाता पर्ने नौगाड गाउँपालिका–४ स्थितको सिप्टी माविमा राहत कोटामै कार्यरत अंग्रेजी शिक्षक जगत सिंह चैसिरलाई सो विद्यालयमा ल्याउन लागिएको थियो । राहत कोटामा रहेका उनलाई ल्याउन कार्यविधि बाधक भएपछि विज्ञापन रद्ध गरिएको बुझिएको छ ।

केहि दिन भित्रै मालिकार्जुन नमुना मावि धापमा अंग्रेजी शिक्षकको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *