ब्याँसको लेखापरीक्षण पहिलो पटक गाउँपालिकामै

ब्याँसको लेखापरीक्षण पहिलो पटक गाउँपालिकामै


दार्चुला : पहिलो पटक ब्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गाउँपालिकामै गरिएको छ । भौगोलिक विकटताको कारण देखाउँदै विगत वर्षहरुमा जिल्ला सदरमुकाम खलंगामा गरिने गरिएको अन्तिम लेखापरीक्षण यसपाली गाउँपालिकाको केन्द्र सुन्सेरामै गरिएको हो । विगतका वर्षहरुमा स्रेस्ता सदरमुकाम झिकाई यतै लेखापरीक्षण सम्पन्न गर्ने गरिएको थियो ।

ब्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणका लागि भदौ १६ गते निर्देशक हिरामणी निरौला, लेखापरीक्षण अधिकारी संजय कुमार शाह र अनिता गौतम तथा लेखापरीक्षण अधिक्षक हेमन्त बहादुर मगरले पहिलो पटक कार्यालयमै उपस्थित भएर लेखापरीक्षण सम्पन्न गरेको ब्याँस गाउँपालिका लेखा प्रमुख गोपाल सिंह विष्टले जानकारी दिए ।

लेखापरीक्षणको लागि दार्चुला सदरमुकाबाट भारतको बाटो हुँदै सडक यात्रा र पैदल गरी गाउँपालिका केन्द्र पुग्न ५ घण्टा लागेको लेखापरीक्षक टोलीका एक सदस्य अनिता गौतमले बताए ।
गाउँपालिकाको कार्यालयमा पहिलो पटक स्थलगत रुपमा नै उपस्थित भएर लेखापरीक्षण गर्ने टोलीलाई गाँउपालिका अध्यक्ष मंगल सिह धामीसहितको गाउँपालिकाको टोलीले स्वागत गरेको थियो ।

दार्चुलामा संघ, प्रदेश र स्थानीय तहका कार्यालयको अन्तिम लेखापरीक्षणका लागि दुई टोली खटिएको निर्देशक हिरामणी निरौलाले जनाए । उक्त टोली ब्याँस गाउँपालिका–१ छाङ्गरु गाउँसम्म पनि पुगेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *