दार्चुला : महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माविमा कक्षा ११–१२ मा अंग्रेजी शिक्षक अभाव भएको ५ महिना भयो । कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक पुस्कर सिंह रैखोला गत चैतमा आधारभूत तह (०–५) मा स्थायी नियुक्ती लागि सिफारिस भएपछि विद्यालयमा शिक्षक अभाव भएको हो ।
शिक्षक अभाव भएपछि २०८१ जेठ ८ गते विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देव सिंह धामीको अध्यक्षतामा बसेको बैठकले कक्षा ११ र १२ मा अध्यापनका लागि रिक्त अंग्रेजी राहत दरबन्दीमा शिक्षक पदपूर्ति गर्नका लागि विज्ञापन प्रकाशन गर्न अनुमतीका लागि महाकाली नगरपालिकालाई माग गर्ने निर्णय गर्यो ।
सोही बमोजिम असार ६ गते महाकाली नगरपालिकाले उक्त विद्यालयलाई माध्यमिक तह कक्षा ११–१२ को अंग्रेजी विषयको राहत शिक्षक नियुक्ती गर्न १५ दिने सूचना प्रकाशन गर्न अनुमति दियो ।
विद्यालय व्यवस्थापन समितिको पुनः असार ३० गते बैठक बसी शिक्षक नियुक्तीका लागि भन्दै साउन १ गतेदेखि लागू हुने गरी १५ दिने सूचना प्रकाशन गर्ने निर्णय गरी साउन १ गतेको मितिमा सूचना प्रकाशन गर्यो । सोही दिन नै महाकाली नगरपालिकाले शिक्षक भर्ना प्रक्रिया अगाडि नबढाउन विद्यालयलाई पत्राचार गर्दै अर्को पत्र प्राप्त नहुँदासम्म यथास्थितिमा राख्न आदेश दियो ।
यसपछि मालिकार्जुन नमुना मावि धापको शिक्षक भर्ना विज्ञापन रद्ध भयो । धापको रिक्त उक्त दरबन्दीमा नौगाड गाउँपालिका–४ स्थितको सिप्टी माध्यमिक विद्यालयमा राहत दरबन्दीमै कार्यरत शिक्षक जगत सिंह चैसिरलाई ल्याउन कसरत भएको थियो । राहत दरबन्दीमै रहेका उनलाई अर्को पालिकाबाट ल्याउन कार्यविधिले नमान्ने भएपछि मालिकार्जुन नमुना मावि धापमा शिक्षक नियुक्ती लम्बिएको हो ।
अहिले विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । यतिमात्रै होइन शिक्षक अभावलाई लिएर विद्यार्थीहरुले आन्दोलनको तयारीसमेत थालेका छन् । बुधवार मात्रै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु महाकाली नगरपालिका घेराउका लागि आउने तरखरमा थिए तर, त्यसको जानकारी नगरपालिकाले पाएपछि नगरप्रमुख नरसिंह चैसिरले बिहीवारसम्म विद्यालयमा वैकल्पिक शिक्षकको रुपमा भएपनि नियुक्ती गरिसक्ने आश्वासन दिएपछि आजको आन्दोलनको कार्यक्रम विद्यार्थीहरुले स्थगित गरेका छन् ।
उनीहरुले बुधवारको कक्षाहरु बहिस्कार गरेका थिए । यस्तै विद्यालयमा ५ महिनादेखि शिक्षक अभाव हुँदा पनि अहिलेसम्म आएर पदपूर्ति हुन नसकेको भन्दै कक्षा ११ र १२ का विद्यार्थीहरुले भोलिसम्म शिक्षक पदपूर्ति नभए विद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । यस्तै विद्यालयमा गठित बाल क्लवले पनि थथासिघ्र शिक्षक पदपूर्ति गर्न आग्रह गर्दै पदपूर्ति हुन नसके थप आन्दोलनका कार्यक्रम अघि सार्ने बताएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?