महाकाली नगरपालिकाले प्रयोगमा ल्याएको कर्मचारी आवास भवन खाली गर्न आग्रह

महाकाली नगरपालिकाले प्रयोगमा ल्याएको कर्मचारी आवास भवन खाली गर्न आग्रह


दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले प्रयोगमा ल्याएको निजामती कर्मचारी आवास भवन खाली गर्न आग्रह गरिएको छ । विगत ६ वर्षदेखि महाकाली नगरपालिकाले प्रयोग गर्दै आइरहेको कर्मचारी आवासको ब्लक (ए) भवनलाई निजामती कर्मचारीहरुलाई नै प्रयोग गर्न दिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई निर्णयसहितको पत्र बुझाइएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन दार्चुलाको बैठक बसी आज प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई निर्णयसहितको पत्र बुझाइएको हो ।

आधिकारिक ट्रेड युनियन दार्चुलाका अध्यक्ष रघुबिर सिंह ठगुन्नाको संयोजकत्वमा कर्मचारी संगठनहरुका अध्यक्ष लगायत अन्य प्रतिनिधि र कर्मचारीहरुको बैठक बसी अब उपरान्त नगरपालिकालाई आवास उपभोग गर्न नदिने निर्णय गरेका छन् । पहिलो पटक उक्त आवास भवन महाकाली नगरपालिकालाई ५ वर्षका लागि प्रयोग गर्न दिने बारे २०७५ साल भदौ २४ गते नेपाल सरकारकातर्फबाट दार्चुलाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य र महाकाली नगरपालिकाकोतर्फबाट तत्कालिन नगर प्रमुख हंसराज भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताको म्याद २०८० भदौ २४ गते सकिएपछि नगरपालिकाले २०८० भदौ २३ गते थप दुई वर्षका लागि सम्झौताको म्याद थप गरि दिन प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको थियो । उक्त निवेदन उपर छलफल गरी निर्णय गर्न दार्चुलाका तत्कालिन प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा २०८० माघ १९ गते बसेको बैठकले १ वर्षका लागि मात्रै म्याद थप्न सकिने निष्कर्ष निकालेर म्याद थप गरिएको थियो ।

एक वर्षका लागि थप गरिएको म्यादसमेत २०८१ भदौ २३ गते सकिएपछि कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आज निर्णय गर्दै अब नगरपालिकालाई उक्त भवन प्रयोग गर्न दिन नसकिने जनाएको हो ।

साथै बैठकले कर्मचारी आवासको ब्लक (बी) आवास भवन निर्देशिका अनुसार प्रयोगमा ल्याइने पनि निर्णय गरेको छ । केहि वर्ष देखि जिल्ला प्रशासन कार्यालयले प्रयोग गरिरहेको उक्त भवनलाई समेत निर्देशिका बमोजिम संचालन गर्ने निर्णय गरिएको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष रघुबिर सिंह ठगुन्नाले जानकारी दिए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कर्मचारीहरुबाट आवास भवनबारे निर्णय भइ आएकाले सम्बन्धीत नगरपालिका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उक्त निर्णय पठाइएको बताए ।

आधिकारिक ट्रेड युनियन दार्चुलाका अध्यक्ष रघुविर सिंह ठगुन्नाको अध्यक्षतामा बसेको बैठकमा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष बिरेन्द्र सिंह धामी, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष राजेन्द्र सिंह धामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष जनक सिंह बोहरा, केन्द्रीय सचिवालय सदस्य रमेश सिंह ओखेडा, एकीकृत नेपाल निजामती कर्मचारी संगठनका हरि दत्त जोशी, नेपाल निजामती कर्मचारी संगठन प्रदेश सदस्य धाना कार्की, कर्मचारी आवास व्यवस्थापन संघका सदस्य सुरेन्द्र सिंह धामी, नेपाल निजामती कर्मचारी युनियनका सचिव राकेश सिंह ठगुन्ना, जिल्ला कारागार दार्चुलाका कार्यालय प्रमुख केशव राज अवस्थी, सोही कार्यालयका प्रकाश चौलागाइ, स्याउ जोन दार्चुलाका नविन सिंह धामीलगायत अन्य निजामती कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आज प्रशासनमा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडालको पनि उपस्थिति रहेको थियो ।
जिल्लाका अन्य पालिकाले प्रशासकीय भवन निर्माण गरी प्रयोगमासमेत ल्याएको र केहीका निर्माणाधिन अवस्था रहेको भएपनि जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकाले जग्गा उपलब्ध नै गर्न सकेको छैन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *