दार्चुला : नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रलाई नागरिक समाज दार्चुलाले ध्यानाकर्षणसहितको ज्ञापन बुझाएको छ । बुधवार समाजका अध्यक्ष महेश प्रसाद भट्टद्धारा नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई ज्ञापन बुझाइएको हो । लामो समयदेखि दार्चुलाको विद्युत सेवा नियमित र भरपर्दो नभएकाले यसको छिटो समाधान गर्न ज्ञापन बुझाइएको अध्यक्ष महेश प्रसाद भट्टले जानकारी दिए ।
बिना लोडसेडिङ पनि विद्युत गइरहने हुँदा सास्ती बेहोर्नु परिरहेको र कहिलेकाही हाई भोल्टेजका कारण विभिन्न विद्युतीय उपकरणहरुमा क्षति पुगिरहेकाले समस्या समाधान गर्न ज्ञापनमा भनिएको छ । नियमित विद्युत आपूर्ति नहुँने र अन्धकारमा बस्न बाध्य भएको परिस्थितिलाई एक हप्ता भित्र समाधान गर्न आग्रह गर्दै उक्त अवधिमा पनि विद्युतीय समस्या सामाधान नभए नागरिक समाज दार्चुलाले थप आन्दोलनका कार्यक्रमहरु अघि सार्ने र त्यसबाट कसैलाई असर पर्न गएमा सोको जिम्मेवारीसमेत दार्चुला वितरण केन्द्रले लिनुपर्ने चेतावनी दिइएको छ ।
दार्चुलाको विद्युत सेवा नियमित आपूर्तिका लागि पटकपटक ध्यानाकर्षण गराइएको भएपनि समाधान हुन नसकेको नागरिक समाज दार्चुलाका अध्यक्ष भट्टले बताए । यता, नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले विद्युतीय लाईनमा वन क्षेत्र, हावाहुरी र अन्य कारणले प्रभाव पारिरहेको हुँदा क्रमिक रुपमा विद्युतीय समस्या सुधार भइरहेको जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?