दार्चुला : दार्चुलामा भन्सार छलीका समान बरामद गरिएको छ । जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगडका दुई पसलहरुबाट भन्सार छलीको समान बरामद गरिएको हो । आइतवार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बंगाबगडस्थित बिर बहादुर बोहराको बिएम जनरल स्टोर र करन सिंह ठगुन्नाको किराना पसलबाट तीन लाख मूल्य बराबरको बिल नभएको, भन्सार छलीको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए ।
बिएम जनरल स्टोरबाट भन्सार छलीको २ लाख ५० हजार मूल्य बराबरको चिनी, पिठो, तेल, चप्पल लगायतका समान र ठगुन्नाको किराना पसलबाट ५० हजार मूल्य बराबरको चिनी, तेल बरामद गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त पसलका गोदाममा छापा हानेको थियो । भन्सार छलीको समानसहित पसलका सञ्चालकहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उक्त समान आवश्यक कारवाहीका लागि दार्चुला भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
यस्तै जिल्लाको अन्य ठाउँबाट पनि प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । उक्त सामानको विवरण आइ सकेको छैन् । पछिल्लो समय प्रहरी भन्सार छलीको समान बरामदमा सक्रिय देखिएको छ । गत असोज २२ गते पनि प्रहरीले जिल्ला सदरमुकाम खलंगास्थितको एक पसलमा छापा हान्दा भन्सार छलीको समान बरामद गरेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?