दार्चुला : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले महाकाली तटबन्धको निरीक्षण गर्नुभएको छ । शुक्रवार पूर्वमन्त्री बडूले नेपाल–भारतको सीमा भएर बग्ने महाकाली नदीको महाकाली नगरपालिका वडा नम्बर १, ४ र ५ को क्षेत्रमा पर्ने तटबन्धको निरीक्षण गरेका हुन् । सीमा नदीले गरिरहेको कटान नियन्त्रण गर्न नयाँ तटबन्ध निर्माण, बनेको तटबन्ध संरचनाको मर्मतसम्भार, निर्माणाधिन कार्यको अनुगमन निरीक्षण गरिएको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले जानकारी दिए ।
यस्तै बडूले महाकाली नगरपालिका–५ नमस्कार क्षेत्रको पारीपट्टि भारतले निर्माण गरिरहेको तटबन्धको समेत निरीक्षण गर्नुभएको छ । भारततर्फ तीव्र गतिमा निर्माण भईरहेको तटबन्धले नेपालतर्फ पर्ने प्रभावको पहिचान गर्ने उद्धेश्यले निरीक्षण गरिएको बताइएको छ ।
तटबन्ध निरीक्षणमा प्रतिनिधि सभा सदस्य बडूसँगै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सिंचाइ तथा नदी नियन्त्रण कार्यालय बैतडी–पाटनका डिभिजनल प्रमुख सहितको प्राविधिक टोली र राजनैनिक दलका प्रतिनिधिहरु सहभागि थिए ।
निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बडूले नयाँ तटबन्ध निर्माणका लागि आवश्यक देखिएका क्षेत्रहरु समेत पहिचान गरि आगामी कार्यक्रममा समेट्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् । यस्तै भारतले निर्माण गरिरहेको तटबन्धले नेपालतर्फ पुर्याउन सक्ने क्षति तथा आगामी दिनमा आउन सक्ने द्विपक्षीय समस्याहरु भारतीय पक्षसंग समन्वय गरि समाधान गर्न समेत प्रमुख जिल्ला अधिकारीले आग्रह गरे । (दार्चुला एफएमबाट साभार)
यो खबर तपाईंलाई कस्तो लाग्यो?