महाकाली नगरपालिकाका शिक्षकहरुका लागि संचालित तालिम सम्पन्न

महाकाली नगरपालिकाका शिक्षकहरुका लागि संचालित तालिम सम्पन्न


दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका निम्ति महाकाली नगरपालिकाका शिक्षकहरुका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित क्षमता विकास तालिमको सोमवार सम्पन्न गरिएको हो ।

महाकाली नगरपालिका अन्तर्गतका आधारभूत विद्यालय तहमा पढाउने शिक्षकहरुका लागि दुई चरणमा गरेर क्षमता विकास तालिम दिइएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए । तालिम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा नगरपालिकाका २१ विद्यालयका शिक्षकहरुका लागि कात्तिक ७ र ८ गते सञ्चालन गरिएको हो भने दोस्रो चरणमा पनि २१ विद्यालयका शिक्षकहरुका लागि कात्तिक ११ गतेदेखि १२ गतेसम्म तालिम सञ्चालन गरिएको हो ।

तालिममा शिक्षकहरुलाई आधारभूत तहमा सिकाइ आपूरण तथा द्रुत सिकाइ सहयोग सम्बन्धी अभिमुखीकरण गरिएको थियो । तल्लो कक्षाको सिकाइलाई जोड दिदै सिकाई क्षति न्युनिकरण, आपूरण तथा अभिवृद्धि सहजीकरण र बालबालिकाको सिकाइ निरन्तरता र सुनिश्चिताका विषयमा तालिममा छलफल भएको शिक्षा अधिकृत भट्टले बताए ।

तालिमको सहजीकरण महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले गरेका थिए । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना र बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रममा जोड दिइएको छ । तालिमको अभिमुखीकरण कार्यक्रममा बालबालिकाको न्युनतम शिक्षा र सिकाइमा जोडदिनु पर्ने औल्याइएको छ ।

यसैबीच १५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लाई पनि अभिमुखीकरण तालिम दिइएको छ । प्रारम्भिक बालविकास नीति र प्रारम्भिक बालसिकाई मापदण्ड सम्बन्धि प्रधानाध्यापकहरुलाई दुई दिने तालिम दिइएको हो । तालिमको सहजीकरण सेतो गुरास राष्ट्रिय सेवाका जानकी सिंहले गर्नुभएको थियो ।

सामुदायिक विकास केन्द्रले शिक्षा योजना निर्माण र अध्यावधिक, आपूरण र द्रुत सिकाई तथा बालविकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । दार्चुलाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिका गरी ४ ओटा स्थानीय तहमा कार्यक्रम सञ्चालन रहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *