माओवादीले अघि सारेका कामको जस एमाले, काँग्रेसले लिए : केन्द्रीय सदस्य जोशी

माओवादीले अघि सारेका कामको जस एमाले, काँग्रेसले लिए : केन्द्रीय सदस्य जोशी


दार्चुला : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दार्चुला इन्चार्ज लक्ष्मण दत्त जोशीले माओवादीले अघि सारेका कामको जस एमाले, काँग्रेसले लिएको बताएका छन् । बुधवार दार्चुला सदरमुकाम खलंगामा पत्रकार भेटघाट गर्दै केन्द्रीय सदस्य जोशीले जिल्लाको सन्तुलित विकासका लागि माओवादीले थुप्रै काम गरेको भएपनि जस पाउन नसकेको बताएका हुन् ।

उनले भने– ‘हामीले गर्दै जाने हो, जनताले बुझिहाल्छन् भन्ने सोच्यौ । सामाजिक सञ्जालबाजी पनि गरेनौ, संचार जगतसम्म पनि समन्वय भएन् त्यसैले हाम्रो कामको प्रचार हुन नसक्दा जस एमाले, काँग्रेसले लिए ।’ विकास निर्माणका सन्दर्भमा अन्य राजनीतिक पार्टीले भ्रम फैलाएको माओवादीको आरोप छ ।

आफ्नो पालाको आफ्नै सरकारले दार्चुला जिल्लाको सन्तुलित विकासमा महत्वपूर्ण भूमिका खेलेको केन्द्रीय सदस्य जोशीको भनाई थियो । आफ्नो सरकारको पालामा दार्चुला–टिंकर सडकखण्ड निर्माण कार्य अगाडी बढेको, भर्तोला जोलजिबी–सेरा सडक, ऐरीछना–धनथला सडक, खलंगा–खार–देथला बिटुले–पारीबगड सडक अघि सारिएको उनले बताए

शिक्षाको क्षेत्रमा लटिनाथ क्याम्पस, लाली क्याम्पस, गोकुलेश्वर क्याम्पस, हुती क्याम्पस खोल्ने कुरामा माओवादीले मुख्य भूमिका खेलेको बताए । यस्तै ग्रामिण क्षेत्रको विद्युतीकरणमा पनि काम अगाडी बढेको बताउँदै अस्पताल निर्माण तथा स्तरोन्नतीका काममा पनि माओवादीको उच्च भूमिका रहेको औल्याए ।

पत्रकार भेटघाटका क्रममा केन्द्रीय सदस्य जोशीले दार्चुलामा नेकपा माओवादी केन्द्रले कात्तिक ४ गतेदेखि कात्तिक १४ गतेसम्म जिल्लाव्यापी भेटघाट कार्यक्रम गरेको जानकारी दिदै उक्त भेटघाटले जनसम्पर्क सुढृढ हुनुका साथै गाउँमा राम्रो सन्देश प्रवाह भएको बताए । साथै उनले निकट भविष्यमा २०६४ को पार्टीबहारको स्थितिमा माओवादीलाई ल्याउने गरी पार्टीपंक्ति खटिएको बताए ।

यसैबीच नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य मान बहादुर धामीले जिल्लामा दार्चुलामा जिल्लामा माओवादी पार्टी काँग्रेस, एमालेका कारण कमजोर नभई आफ्नै पार्टीभित्रको आन्तरिक द्धन्द्धले कमजोर भएको निष्कर्षमा पुगेको बताए । यसको उदाहरण अन्य पार्टीको नेतृत्वमा देखिएको प्रष्ट नै रहेको भन्दै माओवादीकै साथीहरु गएर एमाले, काँग्रेसको आधा पार्टी जोगाई दिएको बताए । बिचारमा लय र प्रशिक्षित पार्टीका कार्यकर्ता माओवादीमा भएकाले उता गएर नेतृत्व मात्रै गरेको उनको भनाई थियो । साथै उनले ती कार्यकर्ता गाउँमा जाँदा माओवादीकै शैलीमा जाने गरेको पनि बताए ।

प्रदेश सभा सदस्य धामीले जिल्लामा आफू नेतृत्व र माओवादीको पहलले भएको कामको पनि प्रचारबाजी एमालेले गर्ने गरेकोमा आपत्ति जनाए । प्रचारबाजीका लागि साइबर स्यालहरु फेसबुकमा जे कुरा पनि एमालेले नै गरेको हो भन्ने भाष्य निर्माणमा लाग्ने गरेको उनले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *