दार्चुला : दार्चुलामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर २ गतेदेखि १२ गतेसम्म जिल्लाभर कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख, बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए ।
उनका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा मंसिर २ गतेदेखि १२ गतेसम्म खोपअभियान सञ्चालन गर्न पत्राचार गरिएको छ । पालिका अन्तर्गतका वडा स्तरीय स्वास्थ्य संस्थाहरुमा खोपकेन्द्र रहने गरी बढीमा ३ दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिने बरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले बताए ।
अभियान अन्तर्गत सबै स्वास्थ्यकर्मी, हालसम्म कोेरोनाविरुद्धको खोप नलगाएका १२ वर्ष माथिका सबै नागरिक, १२ वर्षमाथिका दीर्घरोगी, जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई पहिलो मात्रा नपाएको भए पहिलो मात्रा दिने र पहिलो मात्रा पाएको भए १ वर्ष पुगेको अवस्थामा दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बिरेन्द्र भट्टले जानकारी दिए ।
यस्तै कोरोना खोप लगाएको १ वर्ष पूरा भएका १२ वर्षमाथिका नागरिक र गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिइने छ । दार्चुलामा कोरोनाविरुद्धको फाइजर खोप लगाइने जनाइएको छ । दार्चुला जिल्लाका लागि ८ हजार ४ सय डोज खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख कुँवरले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?