दार्चुला : नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ । शनिवार अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा केन्द्रीय सदस्य आन सिंह बडालको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा विस्तारित बैठक सम्पन्न भएको हो ।
बैठकले ५ महिने (मंसिरदेखि चैतसम्म) कार्ययोजना तयार पारेको अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कार्ययोजना बमोजिम मंसिर महिनामा स्थानीय तहहरुका प्रतिनिधिहरु सँग अन्तरक्रिया गर्ने, पालिकास्तरीय वादविवाद प्रतियोगिता आयोजना गर्ने र पालिका स्तरीय कमिटि, क्याम्पस कमिटि बैठक सम्पन्न गर्ने जनाइएको छ ।
यस्तै पुष महिनामा आवासीय प्रशिक्षण कार्यक्रम, सचिवालय बैठक र दुहुँ, लेकम, मार्मा गाउँपालिकामा विद्यार्थी प्रतिभा पहिचान तथा जागरण अभियान सञ्चालन गरिने छ । माघ महिनामा पदाधिकारी बैठक र जिल्लास्तरिय वादविवाद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम तथा फागुन महिनामा विद्यार्थी महोत्सव २०८१ आयोजना गर्ने र चैत महिनामा जिल्ला कमिटिको तेस्रो पूर्ण बैठक डाक्नुका साथै १५ औँ जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्य योजनामा समेटिएको छ ।
यस्तै लगातार दुई बैठकमा अनुपस्थित हुने जिल्ला कमिटि सदस्यहरुलाई जिम्मेवारी मुक्त गर्ने जिल्ला कमिटि सचिव रोजगारीको शिलसिलमा बाहिर गएपछि सचिवको जिम्मेवारी कोषाध्यक्ष खडक ठगुन्नालाई दिने निर्णय समेत भएको अध्यक्ष जोशीले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?