दार्चुला : बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा कात्तिक २८ गतेदेखि सञ्चालन गरिएको तालिम आइतवार सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई तालिम दिइएको थियो ।
बहुभाषिक शिक्षाको महत्व, मातृभाषामा शिक्षण गर्दा प्राप्त हुने शैक्षिक उपलब्धी, शैक्षणिक ज्ञान तथा सीपहरुको बारेमा तालिममा प्रशिक्षण गराइएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए । तालिममा महाकाली नगरपालिकाका १५ आधारभूत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिमको लालझाडी नगरपालिका कञ्चनपुरका शिक्षा अधिकृत सिद्धराज भट्ट, महेन्द्र मावि खलंगाका शिक्षक भैरव दत्त भट्ट र ब्रिटिस काउन्सिलका एकेडेमिक कोर्डिनेटर तेज प्रकाश रिमालले सहजीकरण गरेका थिए । तालिम समापन कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, महाकाली नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं प्रवत्ता शंकर डोबाल, प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडाल, नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका पदाधिकारी, सामुदायिक विकास केन्द्र डोटीका कर्मचारी लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।
यसैबीच महाकाली नगरपालिकामा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा स्थानीय शिक्षा समूह गठन सम्बन्धी बैठक बसेको छ । महाकाली नगरपालिका नगर प्रमुख नर सिंह चैसिरको अध्यक्षतामा बसेको बैठकले शिक्षा समूह गठन गर्नुका साथै स्थानीय शिक्षा समूह गठन/पुनर्गठन र शिक्षा समूह सञ्चालन निर्देशिका सम्बन्धी जानकारी सामुदायिक विकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक हर्क बहादुर ऐर गर्नुभएको थियो । उक्त कार्यक्रममा ब्रिटिश काउन्सिलका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
यो खबर तपाईंलाई कस्तो लाग्यो?