दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धन सिंह कुँवर विजयी भएका छन् ।वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार मान सिंह बडालले ३ सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीर सिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लाल सिंह कुवरले २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पाण्डेले बताए ।
निर्वाचनमा १५ मत बदर भएको थियो । उपनिर्वाचनमा कूल १ हजार २ सय ७२ मतदातामध्ये ८ सय ७७ मत खसेको थियो ।जुन ६८ दशमलव ९५ प्रतिशत हो ।
दुहुँ गाउँपालिका –५ गरमौराको (क) केन्द्रमा २ सय १४ महिला र २ सय २३ पुरुषले मतदान गर्नुभएको थियो भने (ख) केन्द्रमा २ सय ६२ महिला र १ सय ७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?