दार्चुला : जिल्लाको नौगाड गाउँपालिका–१ मा रहेको श्री महादेव आवि (०–५) को १७ औँ वार्षिक उत्सव सुरु भएको छ । शिक्षक-अभिभावक संघका अध्यक्ष गम्भीर सिंह डडालको अध्यक्षता, नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको प्रमुख आतिथ्यता र वडा नम्बर १ का अध्यक्ष हरिलाल सिंह महताको विशिष्ट आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो ।
२०६५ सालमा स्थापना भएको श्री महादेव आविको १७ औँ वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक मोहन सिंह डडालले वार्षिक प्रतिवेदन तथा विद्यालयको आय व्यय प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार विद्यालयमा ११ लाख ५३ हजार ३२७ रुपैयाँ आम्दानी गरेकोमा ११ लाख ३४ हजार ३ सय ३ रुपैयाँ खर्च गरेको जनाइएको छ । अहिले विद्यालयसँग १९ हजार २४ रुपैयाँ मौज्दात रहेको छ ।
यस्तै मंगलवार विद्यालय स्तरीय २१ ओटा प्रतियोगिता सञ्चालन गरिएका छन् । जसमा आधारभूत तह (०–५) का चार विद्यालयको सहभागिता रहेको छ । मंगलवार पढाई गति मापन, शब्द चित्र पत्ति मिलान, हिसाब दौड, श्रुतिलेखन, हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतिय स्थान हासिल गर्ने विद्यार्थीलाई नगद, मेडल सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएका छन् ।वार्षिक उत्सव कार्यक्रम भोलि समापन हुने जनाइएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?