दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । २४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको सशस्त्र प्रहरीले शुक्रवार रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक हर्क राज पन्त र प्रहरी जवान पुनेश चुनाराले रक्तदान गरेका छन् ।


जिल्ला अस्पताल दार्चुलामा रगतको आवश्यकता धेरै हुने भएकाले रक्तदान गरिएको सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तले बताए । यस्तै गणमा कार्यरत २५ जनाको रक्त समूह पत्ता लगाई अभिलेखिकरण गरिएको छ ।
जिल्ला अस्पताल दार्चुलामा १० पिन्टसम्म रगत राख्न सकिने व्यवस्था भएको अस्पतालका ल्याव असिस्टेन्ट दीपक विष्टले जानकारी दिए । सशस्त्र प्रहरीको रक्तदान कार्यक्रममा शुक्रवार ए पोजिटिभ र ओ पोजेटिभ समूहको एक एक पिन्ट रगत दान भएको ल्याव असिस्टेन्ट विष्टले बताए । यस्तै रक्तदान कार्यक्रममै रक्तचाप जाँच गरिएको थियो ।

यसैबीच आजै सशस्त्र प्रहरीले जिल्ला सदरमुकाम खंलगा स्थित नेपाल–भारत जोड्ने सीमा नाकामा लागूऔषध सम्बन्धी जनचेतना जागृत गर्न सडक नाटक प्रदर्शन गरिएको छ । ‘नशारहित युवा हाम्रो देशका कर्णाधार, सीमानाको रक्षा राष्ट्र निर्माणको आधार’ भन्ने नारा दिएर सडक नाटक प्रदर्शनी गरिएको सडक नाटक प्रदर्शनीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरले जानकारी दिए ।

सशस्त्र प्रहरीले देखाएको सडक नाटकमा लागूऔषधमा फसेका युवाहरुको अवस्था र उनीहरुले गर्दा परीवार–समाजमा परेको प्रभावसमेत प्रस्तुत गरिएको थियो । यस्तै कुलतमा फसेका युवाहरुलाई सुधारोक्ति र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको परामर्श लगायतका विषयमा नाटक मन्चन गरिएको थियो ।


यो खबर तपाईंलाई कस्तो लाग्यो?