विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो

विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो

दार्चुला : दार्चुलामा पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । १७ औँ गणतन्त्र दिवस दार्चुलामा रक्तदान, वृक्षारोपण जस्ता कार्यक्रम गरी मनाइएको हो । जिल्ला समन्वय समिति दार्चुलाको आयोजना र महाकाली नगरपालिकाको आर्थिक सहयोगमा मंगलवार जिल्ला सदरमुकाम खलंगाको खुलामञ्चमा भेला भई र्यालीसहित जिल्ला अस्पताल पुगेर रक्तदान गरिएको थियो । त्यसपश्चात डिभिजन वन कार्यालयको सहकार्यमा जिल्ला प्रहरी कार्यालय परिषर पछाडी वृक्षारोपण गरिएको थियो ।

दिवसको अवसरमा महाकाली नगरपालिकाका विभिन्न स्थानमा रहेका विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ भने महेन्द्र नमुना माध्यमिक विद्यालयको अनाथालय छात्राबासमा रहेका विद्यार्थीहरुलाई खेलकुद सामग्री समेत वितरण गरिएको छ ।

जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको संयोजकत्वमा भएको कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । वि.सं. २०६५ जेठ १५ गते निरंकुस एकात्मक राजतन्त्रको अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी देशभरी गणतन्त्र दिवस मनाइन्छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *