टिंकर नाका खुल्ने सुरसार, जुन २५ तारिखमा खोल्ने तयारी

टिंकर नाका खुल्ने सुरसार, जुन २५ तारिखमा खोल्ने तयारी

दार्चुला : कोरोना कालदेखि बन्द रहेको दार्चुलाको चीन जोड्ने टिंकर नाका खोल्ने तयारी भएको छ । बिहीवार दार्चुला प्रशासन र तिब्बतका अध्यागमन अधिकारी, प्रहरी प्रशासन र काउन्ट्री चीपसँग सामाजिक सञ्जाल (वी च्याट) बाट नाका संचालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

बिहीवार बिहान सुरक्षा समितिको मिटिङ डाकेर नाका खुल्नेबारे आवश्यक सहजीकरण र समन्वयका सम्बन्धमा दुबै क्षेत्रका अधिकारी बीच कुराकानी भएको प्रजिअ जोशीले बताए । उनका अनुसार दुबैतर्फबाट औपचारिक रुपमा जुन २५ तारिख (असार ११ गते) नाका उद्घाटन गरिनेछ ।

गत महिनाको बैशाख १३ गतेबाट जिल्ला प्रशासन कार्यालय दार्चुलाले चीन सीमा क्षेत्र प्रवेशका लागि अनुमति पत्रसमेत जारी गरेको थियो । टिंकर नाका तिब्बतको बुराङ (पुलान) को डिंगाछिदे जोड्ने नाका हो । जुन नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय नाका भएकाले पनि दुवै छिमेकीका लागि रणनीतिक महत्वको मानिन्छ ।

नेपाल र चीनबीचका १४ परम्परागत नाका खोल्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा र पछिल्लोपटक उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका बेला उत्तरी नाका खोल्ने प्रतिवद्धता प्राप्त भएको थियो ।

पहिलो चरणमा ७ ओटा नाका खुल्ने बताइएको छ । भने दोस्रो चरणमा दार्चुलाको टिंकर नाकासँगै अन्य ६ नाका खुल्ने तयारी भइरहेको छ । सीमावर्ती जिल्लाका बासिन्दाको व्यापार सहजीकरण र आवतजावत सहज बनाउन नाका खुलिन लागेको प्रशासनले जनाएको छ ।

पहिलो चरणमा ताप्लेजुङको ओलाङचुङगोला, दोलखाको लाप्ची, मुगुको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका, डोल्पाको मार्युम्ला, गोर्खाको थाप्ला, रुइला र बझाङको उराइलेक नाका खुल्ने जनाइएको छ । दोस्रो चरणमा संखुवासभा, दोलखाको अर्को नाका, मुस्ताङ, मनाङ, हुम्ला र दार्चुलामा रहेका नाका खोल्ने चीनको तयारी रहेको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *